काठमाडौं, वैशाख ९ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताउनुभएको छ ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले नेकपा एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताउनुभयो । नेकपा एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।
‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई नै सुरक्षित बनाउन सकिन्छ’, ज्ञवालीले भन्नुभयो ।
कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रले गरेको दुःख सम्झँदा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो । हिजो भूमिगत कालमा सेल्टरदाताहरूले आफ्नो ज्यानको समेत परवाह नगरी नेता र पार्टीलाई जोगाएका उहाँले स्पष्ट पार्नुभयो ।
दिनभरि ज्याला बनी गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उहाँले स्मरण गराउनुभयो । हाम्रो पार्टी जनताको आश्रयमा बजेको पार्टी हो, हाम्रो त्यो कैरवपूर्ण यात्रा अहिले सम्झँदा अहिले पनि आङ सिरिङ्ग गर्छ’, उहाँले भन्नुभयो ।
नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा-पिसाब समेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उहाँले बताउनुभयो । कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको विगतको इतिहास भएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।
स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उहाँले बताउनुभयो । त्यो बुझियो भने यो व्यवस्था प्रतिको आस्था र विश्वास बढ्ने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्