जनता टाइम्स

९ बैशाख २०८२, मंगलवार १५:०६

आफू राम्रो बनौ, कसले के भन्छ भन्ने चिन्ता नगरौँ : शान्ता मानवी


काठमाडौं, वैशाख ९ । नेकपा एमालेकी नेतृ शान्ता मानवीले देश र जनताको अवस्था विगतको भन्दा निक्कै परिवर्तन भएको बताउनुभएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मानवीले पार्टी अहिलेको परिस्थितिमा त्यतिकै नआएको बताउनुभएको छ उहाँले हिजोको भन्दा जीवनशैली निक्कै बदलिएको बताउनुभयो ।

‘हिजोको परिस्थिति र आजको परिस्थितिमा निक्कै फेरबदल आएको छ, जहाँ जहाँ कमजोरी छ, त्यसलाई सच्याएर अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो । परिवर्तन भएको छैन भन्नेलाई तथ्य सहित प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘अहिले देशमा नकारात्मक कुरा फैलाउने काम भइरहेको छ, खै कहाँबाट परिचालित भएको छ, परिवर्तन भएको छ कि  छैन, इतिहास पनि हेर्नुपर्छ, पार्टी भित्र पनि वैचारिक स्तर कमजोर भएको छ, वैचारिक प्रशिक्षण दिनुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले अरूले के भन्छ भन्ने भन्दा पनि आफू राम्रो हुनु पर्ने बताउनुभयो । ‘कसले के भन्छ भन्ने चिन्ता नगरौँ, जनताको साथमा जाऊँ, जनताको हितका कुरा उठाऊँ’, उहाँले भन्नुभयो ।

उहाँले समाज र मानिसको जीवनस्तर निक्कै परिवर्तन भएको पनि बताउनुभयो । आफूहरू टाटीको सेल्टर लिएर बसेका घर अहिले पक्की बनेका मानवीले सुनाउनुभयो । कार्यक्रममा मानवी लगायत कम्युनिष्ट पार्टीका सात जना अग्रज योद्धाहरूलाई सम्मान गरिएको थियो ।