जनता टाइम्स

९ बैशाख २०८२, मंगलवार १५:२०

बैशाख ११ को सेलिब्रेशन अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी बनाउने युवा संघको योजना, यस्तो छ विशेष तयारी


काठमाडौं, बैशाख ९ । नेकपा एमाले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा भृकुटी मण्डपमा आयोजना गर्ने जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रमको तयारीमा जुटेको छ ।

कार्यक्रमलाई व्यवस्थित र युवामैत्री बनाउन पार्टी नेतृत्व मञ्च व्यवस्थापनको काममा जुटेको छ । भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रमको लागि सबै जिल्लाका प्रत्येक वडाबाट युवाहरूको सहभागिता गराउने तयारी भइरहेको छ । काठमाडौमा पनि राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा कार्यक्रमको प्रचारलाई तीव्र पारिएको छ ।

मंगलबार आयोजना गरिएको पार्टी स्थापना दिवको कार्यक्रमलाई समेत बैशाख ११ को कार्यक्रमको प्रचार अभियानकै रूपमा सञ्चालन गरिएको छ । कार्यक्रमस्थल आसपासका क्षेत्रमा राष्ट्रिय युवा संघ नेपालका युवाहरूले कार्यक्रमको प्रचार गरिरहेका छन् ।

नेपाली जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र स्थापना भएको दिनको खुसीयाली साटासाट गर्ने कार्यक्रमलाई भव्य बनाउन राष्ट्रिय युवा संघ नेपाल लागेको संघका उपाध्यक्ष कृष्णहरि केसीले बताउनुभयो ।

‘लोकतान्त्रिक गणतन्त्रको जग बसेको दिनलाई युवा महोत्सवको दिन बनाउने तयारीमा लागेका छौँ, यसको व्यवस्थापकीय कामहरू भइरहेका छन्, हिजो मात्रै हामीले स्वय‌ंसेवकहरुको लागि सामान्य प्रशिक्षण पनि सम्पन्न गरेका छौँ’, उहाँले भन्नुभयो ।

बैशाख ११ युवा महोत्सवको रूपमा हुने उहाँले प्रष्ट पार्नुभयो । ‘मूल मञ्च भृकुटीमण्डपबाट पद्मोदयमोडबाट प्रदर्शनीमार्ग तर्फ फर्किएको हुने छ, मञ्चको अगाडी ५० हजार मानिस अट्ने छन्, बाँकी युवालाई भित्र पट्टि प्रदर्शनी कक्षमा बस्ने व्यवस्था मिलाइने छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली उद्यमीले उत्पादन गरेका सामाग्री समेत प्रदर्शिनी हुने उहाँले जानकारी दिनुभयो । ‘कफी सफ र फ्री वाइफाई जोन पनि त्यहीँ हुने छ, फुड स्टल पनि प्रदर्शनीस्थलमा नै रहने छ, विभिन्न खालका खाना पनि खान पाइने प्रबन्ध मिलाइएको छ’, केसीले भन्नुभयो ।

कार्यक्रम युवामैत्री हुने र वक्ताहरू कम हुने उहाँले जानकारी दिनुभयो । लोकतन्त्रका लागि भएका योगदान र बलिदानको प्रदर्शनी कार्यक्रममा गरिने उहाँले बताउनुभयो । लोकतन्त्रको महत्त्व र यसको प्राप्तिका लागि भएका बलिदान बुझाउन कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

कार्यक्रममा एमालेका सबै जनसङ्गठनबाट युवाहरूको सहभागिता रहने उहाँले बताउनुभयो । देशभरका युवाहरू आउने भएकोले कार्यक्रममा करिब एक लाख युवा सहभागिता हुने उहाँको अनुमान छ ।