जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १७:५६

उर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त


काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खासत गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिशमा प्रधानमन्त्री ओलीले बुधवार राज्यमन्त्री तामाङलाई पदमुक्त गर्नुभएको हो । कांग्रेस सभापति देउवाले गृहमन्त्री रमेश लेखकमार्फत राजीनामा दिन निर्देशन दिनुभएको थियो । तर तामाङले राजीनामा नदिने अडान लिएपछि बर्खासत गर्न सिफारिश गरिएको थियो । राज्यमन्त्री तामाङले पनि पाटीृबाट राजीनामा दिन निर्देशन आएको तर  नदिने अडान राखेको बताउनु भयो ।

‘गृहमन्त्री (रमेश लेखक) ले राजीनामा दिनुस भनेर फोन गर्नुभएको थियो । मैले किन दिने ? दिन्न भन्ने जवाफ दिएको थिएँ । त्यसपछि हटाएको खबर आयो,’ तामाङले भन्नुभयो । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

रामेछापकै रहेको कारण कुलमान सरकारबिरुद्ध लागेपनि हटाउन नहुने अडानमा राज्यमन्त्री तामाङ रहनुभएको थियो । मन्त्रीकै बिरुद्ध प्रचारवाजी गरेको र कुलमानलाई साथ दिएर मन्त्रीलाई असहयोग गरेको कारण तामाङलाई मन्त्रीबाट हटाउने निर्णयमा सभापति देउवा पुग्नुभएको हो ।