जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०८:५२

उपनिर्वाचनमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो


तम्घास,  कात्तिक १५  । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

सिञ्जाली सोही वडाका वडासदस्य हुनुहुन्छ । उहाँलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताउनुभयो । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उहाँको भनाइ थियो । रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उहाँले ६२८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याउनुभएको थियो । विसं २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गुल्मीदरबार गाउँपालिका–७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।