जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०९:२१

महराको थुनछेक बहस आज , साढे ७ वर्ष जेल सजायको माग


काठमाडौं, कात्तिक १५ । संसद सचिवालमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (शुक्रबार) हुँदैछ ।

जिल्ला अदालत काठमाडौँको इजलासमा सुरुमा महराको बयान लिइनेछ । त्यसपछि बादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ ।
जिल्ला अदालत काठमाडौं तत्कालिन सभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरूद्ध जवरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो । जसमा साढे ७ वर्षसम्मको जेल कैद सजायको माग गरिएको छ । काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

महरामाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो । पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो ।

महरालाई रोशनी शाहीलाई रातिको समयमा उनकै निवास तीनकुनेस्थित डेरामा पुगेर जवरवस्ती करणी गरेको आरोप लागेको छ ।