जनता टाइम्स

१२ बैशाख २०८२, शुक्रबार ०६:३५

बजेट अधिवेशन आजबाट सुरु हुँदै, पहिलो बैठकको कार्यसूची के छ ?


काठमाडौं, १२ बैशाख । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो बैठक आज १ बजे बस्दै छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्ततु गर्ने कार्यसूची छ । यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।