काठमाडौं, १२ वैशाख । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पार्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको बताउनुभएको हो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेती नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेति हो । सरकारमा कुनै समस्या छैन,’ उहाँले भन्नुभयो, ‘उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो । पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो । प्रचण्ड फण्डाबाहेक कांग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या छैन ।’
सत्तारुढ दलहरूमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उहाँको आरोप छ । ‘कांग्रेस र एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदैछ भन्ने प्रचण्डले बुझ्नुभएको छ । त्यो चिन्ता र भयले गर्दा उहाँ बिहान उठ्ने बित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ,’ बतौलाले भन्नुभयो, ‘सुत्ने बेला ढल्छ भन्नुभएको छ । एकल बहुमतको लागि हामी ०८४ कुर्छौं । त्यतिबेलासम्म कांग्रेस र एमालेबीचको सत्ता सहयात्रा यही ढंगले अगाडि बढ्छ ।’
प्रतिक्रिया दिनुहोस्