जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १७:११

६ बर्षपछि समातियो युवतीमाथि एसिड हान्ने अभियुक्त


हेटौंडा, कात्तिक १५ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ निवासी बिन्दवासिनी कंशकारलाई एसिड प्रहार गर्ने भारतीय युवक ६ वर्षपछि पक्राउ परेका छन । प्रहरीले भारत महाराजगंज अमरपुर्वनका अभियुक्त दिलिपराज केशरीलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका २३ भलोहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारासँगको समन्वयमा मकवानपुरबाट गएको प्रहरी नायव निरीक्षक सागर शम्शेर जवरा नेतृत्वको टोलीले बिहीबार साँझ ८ बजे अभियुक्त केशरीलाई पक्राउ गरेको हो । मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार २०७० साल वैशाख ९ गते बिहान कंशकारलाई एसिड प्रहार गरी केशरी फरार भएका थिए । प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण केशरीले ती कंशाकारलाई एसिड प्रहार गरेका थिए । २६ वर्षीय कंशकारलाई हेटौंडामा डेरा गरी बस्ने केशरीले एसिड प्रहार गरी भारतमा लुकेर बस्दै आएको र बिशेष सूचनाको आधारमा बाराबाट पक्राउ गरिएको मकवानपुर प्रहरीको भनाई छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेतृत्व सम्हालेदेखि नै एसिड आक्रमण गर्नेमाथि योजनावद्ध रुपमा अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको थियो । आइजीपी खनालकै बिशेष निर्देशनमा लामो समयदेखि प्रहरी पउनको खोजीमा जुटेको थियो । केशरी नेपाल आएर जितपुर सिमरामा लुकिछिपी बस्दै आएको सूचनापछि प्रहरीले थप सक्रियता बढाएको थियो । सोही क्रममा उनी पक्राउ परेका हुन । एसिडपीडित कंशाकारले ढिलै भएपनि अपराधी पक्राउ परेकोमा खुशी देखिइन ।

मैले कति पीडा भोगिरहेको छु, त्यो मलाई मात्र थाहा छ, यिनलाई सके मृत्युदण्ड नभए आजीवन काराबासको सजाय हुनुपर्छ

पीडक केशरीलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुगेकी कंशकारले अभियुक्त केशरीलाई देखेपछि निकै आक्रोशित बनिन ।  पीडित कंशाकार पत्रकार सम्मेलनमै अभियुक्तमाथि जाइलागेकी हुन ।

उनी निकै आक्रामक मुद्रामा अभियुक्तबिरुद्ध जाइलागेकी थिइन । ‘मैले कति पीडा भोगिरहेको छु, त्यो मलाई मात्र थाहा छ, यिनलाई सके मृत्युदण्ड नभए आजीवन काराबासको सजाय हुनुपर्छ,’ प्रहरीको पत्रकार सम्मेलनमै कंशाकारले भनिन ।