काठमाडौं, बैशाख १५ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि जिम्मेवार रहेको बताउनु भएको छ ।
शिक्षकको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको भन्दै शर्माले प्रचण्डको पनि बदमासी रहेको तथ्यलाई स्वीकार गर्नुभएको हो । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै शर्माले पछिल्ला तीन सरकार सवै बराबर जिम्मेवार रहेको बताउनु भयो ।
‘शिक्षकहरूसँग पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने काम गर्दा समस्या भएको हो,’ शर्माले भन्नुभयो । शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठनपाठन प्रक्रियामा नै समस्या भएको पनि उहाँले बताउनु भयो । आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै शर्माले गाउँमा दुई दर्जन जति बालबालिका चोटपटक लागेको अवस्थामा पाएको बताउनु भयो ।
कसरी चोटपटक लाग्यो भन्दा अभिभावकले स्कुल जान नपाएको र भीरपाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको जानकारी पनि सांसद शर्माले दिनुभयो । शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने सुझाव पनि शर्माले दिनुभएको छ । सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।
संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै शर्माले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्