काठमाडौं, बैशाख १६ । सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ ।
कांग्रेस महामन्त्री थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलतासमेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको छ ।
‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू,’ सर्वोच्चले आदेशमा भनेको छ । बैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसदको सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै ध्यानाकर्षण पनि गराएको छ ।
न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो । केही दिनअघि कांग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
थापाको सो अभिव्यक्ति विरुद्ध अधिवक्ता अनन्तराज लुईंटेललगायतले अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिनुभएको थियो । निवेदनमाथि सुनुवाई गर्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्