जनता टाइम्स

१६ बैशाख २०८२, मंगलवार २२:३२

नेपाल प्रहरीका ६ एआइजीको पदस्थापन : सीआइबी प्रमुखमा खापुङ, मानव स्रोत विभागमा कार्की


काठमाडौं, बैशाख १६ । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) को पदस्थापन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले बढुवा गरेको ६ जना एआइजीको मंगलवार पदस्थापन गरिएको हो ।

मन्त्रिपरिषदले बढुवा समितिको सिफारिशअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ देखि नै लागू हुनेगरी प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवाभएका एआइजीमध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा चन्द्रकुबेर खापुङलाई दिस्थापन गरिएको छ । सिआइवी नेपाल प्रहरीको प्रभावशाली र आकर्षक कार्यालय मानिन्छ । सिआइवी प्रमुख रहनुभएका तत्कालीन एआईजी दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि डीआईजीका रुपमा खापुङले उक्त जिम्मेवारी सम्हाल्नुभएको थियो । खापुङ एआईजी बढुवापछि सोही कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको हो ।

यस्तै प्रहरी प्रतिष्ठान प्रदेश समन्वय विभागमा एआइजी डा. मनोजकुमार केसीको पदस्थापन भएको छ । केसी यसअघि पनि सोही बिभागमा कार्यरत रहनुभएको थियो । यसैगरी लालमणि आचार्य नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा, कृष्णहरि शर्मा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा पदस्थापन हुनभएको छ ।

यस्तै अर्का एआईजी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा र एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ ।