अछाम, वैशाख १७ । नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो ।
नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित हुनुभएको छ ।
यस्तै जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
बन्दसत्रले लक्ष्मीकुमारी बोगटीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरिएको छ । जिल्ला अध्यक्षमा पदमा उपाध्यायसहित निवर्तमान अध्यक्ष चन्द्र बोहरा र सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वसदस्य बमबहादुर बिसीको पनि अन्तिमसम्म दावी रहेको थियो ।
नेकपा एमाले अछामको नवौं जिल्ला अधिवेशनलाई शनिबार सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, केन्द्रीय सदस्य झपटबहादुर बोहरा, कमल तिमिल्सेना र यज्ञ बोगटी लगायतले सम्बोधन गर्नुभएको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई मंगलबार राति नै शपथ ग्रहण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्