जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार १७:४५

जेलमुक्त भए रेशम चौधरी, पक्राउ परे सर्वाेच्चका अधिकृत


काठमाडौं, बैशाख १७ । सर्वाेच्च अदालतको पत्रले एक्कासी पक्राउ परी कारागार चलान हुनुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा कारागारमुक्त हुनुभएको छ ।

आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो । चौधरी पक्राउ परेको साढे ४ घण्टापछि रिहा हुनुभएको हो ।

चौधरीलाई डिल्लीबजार कारागार पुगेर नाउपाकी अध्यक्षसमेत रहनुभएकी पत्नी रन्जिता श्रेष्ठ पुग्नुभएको थियो । नाउपा र जनमतका नेता कार्यकर्ताहरुले उनलाई भव्य स्वागत गरेका थिए । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो । सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

तर, चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको सर्वोच्चले बताएपछि उहाँ रिहा हुनुभएको हो । चौधरी रिहा भएसँगै पत्र लेख्ने सर्वाेच्चका शाखा अधिकृत महिमानसिंह बिष्ट भने पक्राउ परेका छन ।