काठमाडौं, बैशाख १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । यस दिवसको अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उहाँले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरुको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
‘विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ । बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन,’ पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ ।
श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्नेमा पनि पूर्वराष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्