काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बुधबार रातिदेखि फेसबुकमा भाइरल भइरहेको भिडियोमा जसपाकी केन्द्रीय सदस्य यादवले पेस्तोल पड्काएको दृश्य स्पष्ट देखिन्छ । भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी डा. यादव जसपा नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले भिडियोको विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । ‘भिडियो मैले पनि हेरेँ, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उनले भने ।
उनका अनुसार सोधपुछ र अनुसन्धानपछि मात्र थप विवरण स्पष्ट हुनेछ र त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस्