काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको भन्दै जनतासँगै बसेर नयाँ क्रान्तिको तयारी गर्ने बताएका छन्। १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै ठूलो आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको उल्लेख गरे।
“हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि राख्दैनौं। हामी जनतासँगै ठिक छौं, हाम्रै वर्गसँग ठिक छौं,” पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने। उनले मजदुरहरूलाई आन्दोलनको राम्रो तयारीमा जुट्न आह्वान गर्दै भने, “तपाईंहरू अब तयारीमा लाग्नुस्। छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने छ।”
दाहालले विगतको जनक्रान्तिमा साथ दिने जनता, जनमुक्ति सेना (पीएलए) का कमाण्डर, योद्धा, घाइते, अपांग, जेलनेल र यातना भोगेका कार्यकर्ता र २०६४ को निर्वाचनमा मतदान गर्ने जनतासँग एकपटक फेरि नयाँ क्रान्तिको तयारी गर्नुपर्ने बताए। उनले आन्दोलनमार्फत देशका तमाम समस्याको समाधान खोज्ने तयारीमा आफूहरू रहेको जोड दिए।
उनले क्रान्ति शान्तिपूर्ण हुने बताउँदै सरकार वा राज्यले दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए। “यदि सरकारले बल प्रयोग गरेर दमन गर्न खोज्छ भने जनताको विद्रोहको अधिकारलाई विश्वको कुनै शक्तिले रोक्न सकेको छैन, नेपालमा पनि रोकिनेछैन,” दाहालले भने।
कार्यक्रममा दाहालले श्रमिकहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन र सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यभार पूरा गर्न क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले विश्वभरका श्रमजीवी वर्गप्रति ऐक्यबद्धता व्यक्त गर्दै आठ घण्टा कार्यदिनको मागसहित शिकागोमा भएको मजदुर आन्दोलनको स्मरण गरे।
प्रतिक्रिया दिनुहोस्