जनता टाइम्स

१९ बैशाख २०८२, शुक्रबार ०७:०३

संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


काठमाडौं, १९ वैशाख। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठ) मा प्रस्तुत हुँदैछ ।संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

त्यसअघि सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।

यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२र८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने छ।