विराटनगर, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
कोशी प्रदेशको पहिलो सूचना प्रविधि (आईटी) समिटको उद्घाटन गर्दै उनले प्रदेशको विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका हुन् । उनले युवाहरूको सुझावको आधारमा आईटी नीति निर्माण गर्ने धारणा राखे ।
उनले भने, ‘कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ ।’
सम्मेलनमा कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरूबारे प्रस्तुत गर्दै वक्ताहरूले कोशीलाई काठमाडौं पछिको आईटी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए ।
प्रविधि अध्ययन गरिरहेका दिपेश पोखरेलले स्थानीय जनशक्तिलाई प्रदेशमै अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पुर्याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका छन् । उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्