जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १९:१९

प्रधानमन्त्री ओलीसँग भेटपछि माओवादीले भन्यो : सरकारको काम सकारात्मक नै पायौं


काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताउनु भयो । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुएको उपमहासचिव पुनले बताउनु भयो । संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राख्नुभएको र सोमवार अध्यक्ष प्रचण्डसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उपमहासचिव पुनले भन्नुभयो, ‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्युसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरुमा छलफल भएको छ । प्रधानमन्त्रीज्युले अहिले भइरहेका प्रक्रियाहरु, पीडितहरुले उहाँसँग उठाएका सरोकारका विषयहरु र नेपाली काँग्रेसका सभापतिज्युसँग पनि भिक्टिमहरु गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरुमा छलफल भयो । यो प्रक्रिया सकारात्मक रुपले अघि बढिरहेको नै पायौं। कहाँ पुग्यो र के भइरहेको छ भन्ने विषयमा प्रधानमन्त्रीज्युले प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउनु भयो ।’

उहाँले टिआरसीसँग सम्बन्धित प्रक्रियाहरु सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरुले पाएको बताउनु भयो ।