धादिङ, बैशाख २२ । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चुडामणि कँडेल र श्रीमती सुस्मिता सिलवाल कँडेलबीच सम्बन्ध बिग्रदा जघन्य जघन्य अपराधको घटना घटन पुगेको छ । श्रीमतीसँगको सम्बन्धमा चिसोपना आउँदा हत्या योजना बनाएका चुडामनि आफै हत्याको सिकार हुनुपरेको तथ्य प्रहरीले खोलेको छ ।
घटना बिवरणअनुसार गत चैत २७ गते धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि आफ्नै घरमा मृत फेला परे । दुई तले घरको भुईंतलामा कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव प्रहरीले फेला पार्यो ।
जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले कँडेलको हत्यारा खोज्ने क्रममा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान छन । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका तिए ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक कँडेल र श्रीमती सुस्मिता सिलवाल कँडेलबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबीच सामान्य बोलचालसमेत बन्द थियो ।सम्बन्ध बिग्रिएपछि कँडेलले आफ्नी श्रीमतीलाई नै मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई सुस्मिताको हत्याका गर्ने योजनामा सहभागी गराए ।
योजनाअनुसार उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास गरे । तर उनीहरूको योजना सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसले आगो भए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा आफूले दिएको पैसा फिर्ता गर्न धम्की दिए । कँडेलले धेरै नै दबाब दिएपछि उनीहरूले सुस्मिताको साटो पैसा दिने कँडेलकै हत्या गर्ने योजनासहित उनकै घरमा पुगेर हत्या गरिदिए ।
प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट कँडेलको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । यसैगरी प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्