जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १६:४४

स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री ओलीले खोल्नुभयो मुख


काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे नेकपाका नेताहरुलाई जानकारी गराउनु भएको छ । आज बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नुभएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौलाले केही दुःख दिएको भन्दै सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नुभयो । प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा दुई पटक डायलासिस भइसकेको र थप उपचारका लागि सबै रिपोर्ट आएपछि अगाडि बढ्ने जानकारी दिनुभएको श्रेष्ठको भनाई छ । श्रेष्ठले केही रिपोर्ट आउन बाँकी भएकाले थप उपचारको बारेमा निर्णय नभएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीज्यूले नै उहाँको स्वास्थ्यस्थितिको बारेमा जानकारी गराउनु भएको छ, उहाँको स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना भएर सिकिस्त भएको अवस्था भने होइन,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सिकिस्त नभए पनि केही गम्भीर समस्या देखिएको उहाँको भनाई थियो ।

‘प्रधानमन्त्री सिकिस्त नभए पनि स्वास्थ्यमा केही समस्या देखिरहेका कारण चिकित्सकले परीक्षण गरिरहेका छन, त्यसका केही रिपोर्ट आइसकेका छन, केही आउन बाँकी छन, सबै रिपोर्ट प्राप्त भएपछि उपचारबारे थप निर्णय हुनेछ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्री ओलीको गत बुधवार र बिहीवार ग्राण्डी अस्पतालमा मृगौलाको डायलासिस गरिएको थियो ।