पोखरा, बैशाख २४ । नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले राष्ट्रिय युवा संघ नेपालमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गर्नुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहारीले महाधिवेशनमा एउटा पदको लागि एकजनाको मात्र उम्मेदवारी पर्ने बताउनुभयो ।
उहाँले सर्वसम्मति लोकतन्त्रको सबैभन्दा उच्चतम अभ्यास भएको बताउँदै महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने स्पष्ट पार्नुभयो । ‘एक पदमा एक मात्रै उम्मेदवारी परेपछि जवर्जस्ति चुनाव गराउन मिल्दैन, सर्वसम्मति लोकतन्त्रको उच्चतम अभ्यास हो, हालको नेतृत्वमा तिक्तता छैन, हार्दिकता छ, सबैको सहमतिले नेतृत्व चुनिनेमा ढुक्क छु’, उहाँले भन्नुभयो ।
वर्तमान अध्यक्ष क्षितिज थेबेले नदोहोरिन बरु पार्टी काममा जाने बताएको भन्दै उहाँले पार्टी काममा थेबेलाई स्वागत गरिने बताउनुभयो । उहाँले अब नयाँ नेतृत्व पनि पूर्ण सहमतिमा नै टुङ्गिने स्पष्ट पार्नुभयो ।
उहाँले पोखरामा हुने संगठनको अधिवेशन ऐतिहासिक हुने दाबी पनि गर्नुभयो । कार्यक्रमको स्टेज आधुनिक र प्रविधि मैत्री डिजिटल हुने पहारीले जानकारी दिनुभयो । संगठनको महाधिवेशनले पोखराको पर्यटन प्रवर्धनमा समेत सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालको दशौँ केन्द्रीय महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुँदै छ । महाधिवेशनको पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्