काठमाडौँ, बैशाख २४ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगत्को भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएकाले पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।
“त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो, संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो”, उहाँले भन्नुभयो, “त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेसको धर्म हो, यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनै छ भन्ने मैले विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान आम सञ्चारमाध्यमको चुनौती भएकाले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै जनताले अपेक्षा गरेको सुशासन, विकास र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझ प्रभावकारी ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन बनाउने र परिमार्जन गर्ने कार्य सरकारबाट भइरहेको जानकारी दिनुभयो ।
“कानुनी हिसाबले पनि सङ्क्रमणकालीन अवस्था नै छ, कानुन बनाउने क्रम जारी छ”, मन्त्री गुरुङले भन्नुभयो, “पत्रकारिता पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा आर्थिक सङ्कटका साथै व्यावसायिक चुनौती बढ्दै गएको र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले संसारकै सक्षम र दक्ष पत्रकार उत्पादन गर्नुपर्ने, त्यसका लागि सूचना प्रविधिको प्रयोगसँगै पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान–२०८१ प्रदान गरियो ।
यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम (बाग्लुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोग्शरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (सङ्खुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) लाई प्रदान गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार सम्मान–२०८१ को राशि रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ रु एक लाख राशि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्