काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो । छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए ।
‘बिहान महामन्त्रीज्यूसँग कुराकानी गर्नुभयो । ४ बजे अन्य शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ,’ मुख्यसचिव पौडेलले भने । उनले शीर्ष नेताबिच समसामयिक राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुने छ । कांग्रेसले १० भ्रातृसंस्थालाई गत चैत मसान्तसम्म महाधिवेशन गर्न अन्तिम अल्टिमेटम फागुन एक गते बसेको पदाधिकारी बैठकबाट दिएको थियो ।
ती मध्य ७ भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् । ती भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद थप्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् । एक पदाधिकारीका अनुसार कांग्रेसले चार भ्रातृसंस्थाको तदर्थ समिति खारेज गर्ने र तीन भ्रातृसंस्थालाई महाधिवेशन गर्न मौका दिने तयारी गरेको जानकारी दिए । त्यस्तै केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाउने बैठकमा पनि छलफल हुने बताइएको छ । त्यससँगै पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षाबारे पनि बैठकमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्