जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार ०९:४१

रामेछापमा पुष्पालाल स्मृति पार्क निर्माणले लिएन गति 


नवराज पथिक 

रामेछाप, १० जेठ । पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कका निर्माण कार्य अलपत्र परेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माण कार्य लामे समयदेखि अलपत्र पर्दा उहाँहरू माथि नै अमान भएको अनुभूति स्थानीयले गर्ने लागेका छन् । ‘वर्षौँ भइसक्यो, काम अलपत्र छ, कि काम नै सुरु नगरेको भए हुन्थ्यो, सुरु गरेर अलपत्र छाड्दा हामीलाई समेत लज्जा बोध हुन लागेको छ’, नेकपा एमाले रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रिन भन्नुहुन्छ ।

पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्टाएको कारण निर्माण कार्यले गति नपाएको नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल बताउनुहुन्छ । ‘न केन्द्र र प्रदेश सरकारले निर्माणको काममा गति दिन चासो देखाएका छन्, न स्थानीय सरकारले बनेका संरचनाको संरक्षणमा ध्यान दिएको छ, यो त बेवारिसे जस्तो भयो’, ढकालले भन्नुभयो ।

सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको पाँच वर्ष भयो । तर निर्माणको हिसाबले पार्कको सामान्य संरचना समेत बनेको छैन ।

पार्क निर्माणका लागि ५५ करोड रुपैँया खर्च हुने अनुमान गरिएको छ । तर सरकारले अति न्यून बजेट छुट्याउँदा कामले गति लिन नसकेको नेकपा एमाले रामेछाप नगरपालिका कमिटीका सचिव माधव ढकाल बताउनुहुन्छ ।

पार्कको लागि ५२ रोपनी जमिन अधिग्रहण गरिएको छ । सो जग्गामा कम्पाउण्ड घेर्ने काम भएको छ । त्यस्तै एउटा सभा हल, शौचालय र केही आवासका लागि साना भवन बनेका छन् ।

निर्माण व्यवसायी मार्फत बनाइएको ती संरचनाको संरक्षण  हुन सकेको छैन । संरक्षण नहुँदा ती संरचना समेत थोत्रिँदै गएका छन् । पार्क क्षेत्र जङ्गलमा परिणत भएको छ ।

पुष्पलाल स्मृति पार्कलाई अन्तर्राष्ट्रिय स्तरको सङ्ग्रहालय सहितको पार्क निर्माणको योजना छ । सङ्ग्रहालयमा पुष्पलालसँग जोडिएका सामाग्री, उहाँका रचना लगायत राख्ने योजन बनेको छ ।

कम्युनिष्टहरुको लागि भँगेरीलाई तिर्थस्तरलको रूपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको नेकपा एमालेका वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल बताउनुहुन्छ । वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल लगायतको प्रयासमा सो पार्क निर्माणको काम सुरु भएको थियो । तर अहिले निर्माण कार्य अलपत्र परेर रोकिएको छ ।

पार्कमा राख्नको लागि गङ्गालाल, पुष्पलाल सहित कम्युनिष्ट पार्टीका संस्थापकको मूर्ति काठमाडौंमा बनेको पनि दुई वर्ष बित्यो । ती मूर्ति काठमाडौंमा अलपत्र छन् ।

भँगेरीमा अहिले सानो ढुङ्गामा कुँदिएको गङ्गालाल र पुष्पलालको मूर्ति छ । त्यहाँ पुग्ने मानिसहरू त्यही मूर्तिको छेउमा बासेर फोटो खिच्छन् । सो स्थानमा कम्युनिष्ट पार्टीका उच्च ओहदाका नेताहरू पनि पुगिसक्नु भयो । पार्कको कामलाई अघि बढाउने आश्वासन पनि पटक पटक दिनुभएको छ । तर काम भने अघि बढेको छैन ।