काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ईर्ष्या भाव मात्र भएको बताउनुभएको छ ।
त्यही ईर्ष्याको कारण नेकपा फुटाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम प्रचण्डले गर्नुभएको ओलीले बताउनुभयो । ‘उनीहरू कम्युनिष्ट थिएन्, त्यसैले उनीहरूले कम्युनिष्ट पार्टीको एकता सहन सकेनन्’, नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
प्रचण्ड र माधव नेपालले कम्युनिष्ट पार्टी फुटाएर देश र जनता माथि ठुलो अपराध गरेका उहाँले बताउनुभयो । दुईतिहाइको नजिक पुगेको कम्युनिष्ट पार्टीलाई उनीहरूले फुटाएर देश र जनताको सपना चकनाचुर पारेका ओलीले स्पष्ट पार्नुभयो ।
भूकम्पले चौतर्फी ध्वस्त पारेको देशलाई उठाउने काम नेकपा एमालेले गरेको उहाँले बताउनुभयो । देशमा चौतर्फी विकासको काम आफ्नो नेतृत्वमा अघि बढेको बेला त्यसलाई सहन नसकेर कम्युनिष्ट पार्टी फुटाउने र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने काम भएको उहाँले स्मरण गराउनुभयो । ती सबै कामलाई अस्तव्यस्त बनाउने काम उनीहरूबाट भएको ओलीले बताउनुभयो ।
आफूलाई वामपन्थी भन्नेहरू कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री खाइदिनु पर्यो भनेर निवेदन बोकेर हिँडेका उहाँले बताउनुभयो । कांग्रेसले हामी प्रजातान्त्रिक पार्टी चुनावमा जान तयार छौँ भनेर विज्ञप्ति निकालेको अवस्थामा समेत तपाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेर बिन्ती पत्र चढाएपछि देउवा प्रधानमन्त्री बन्नुभएको ओलीले स्मरण गराउनुभयो । ‘अहिले पनि वामपन्थी भन्नेहरूले अरू कसैको विरोध गर्दैनन्, एमालेको विरोध गर्छन्, अहिले पनि हाम्रा केही साथीहरू वामपन्थी एकता गर्नुपर्छ भन्दै छन्, मलाई अचम्म लाग्छ’, उहाँले भन्नुभयो ।
अहिले यतिबेला समृद्ध नेपाल, सुखी नेपाली बनाउनु पर्ने जिम्मेवारी रहेको उहाँले बताउनुभयो । त्यो काम नेकपा एमालेले मात्र गर्ने र गर्न सक्ने ओलीले बताउनुभयो । अरूलाई समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाउन समेत असजिलो भएकोले त्यसको लागि उनीहरूले काम नगर्ने ओलीले स्पष्ट पार्नुभयो ।
छिमेक सम्बन्ध कस्तो राख्नु पर्छ, वैदेशिक सम्बन्ध कस्तो राख्नु पर्छ, यी सबै कुरा एमालेलाई थाहा भएको उहाँले बताउनुभयो । सबैलाई मिलाएर समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य एमालेले बनाउने ओलीले दाबी गर्नुभयो ।
बिकाऊ नेताहरूको हातमा शासन सत्ता गयो भने देश बरबाद हुने ओलीले बताउनुभयो ।
सहकारी ठगहरू अहिले सहकारी पीडितलाई न्याय दिन्छौँ भनेर हिँडेका भन्दै ओलीले त्यसको आलोचना गर्नुभयो । एमालले सहकारी ठगे जस्तै गरी एमाले माथि सहकारी ठगहरूले नै औला ठड्याउने गरेका ओलीले बताउनुभयो ।
माओवादीले २०६४ को चुनाव बन्दुक देखाएर धम्क्याएर जितको बताउँदै ओलीले प्रचण्डलाई अब फेरी २०६४ को जस्तै जित निकाल्छौँ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’, उहाँले भन्नुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई पनि अनावश्यक भ्रामक कुरा गरेर जनतालाई उल्लु बनाउने प्रयास नगर्न आग्रह गर्नुभयो । आफ्नो पालामा के भएको थियो र बहुदल आएपछि के भएको छ भनेर आफैँ तुलना गरेर हेर्न उहाँले पूर्वराजालाई चुनौती दिनुभयो ।
ओलीले राजतन्त्र कस्तो हो भन्ने कुरा नयाँ पुस्तालाई थाहा नभएको बताउँदै राजतन्त्र के हो ? कस्तो थियो ? के गरेको थियो ? भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राजावादीको नामामा भाडा तिरेर लुट्न ल्याएका मानिसहरू काठमाडौंमा उफ्रिने गरेको ओलीले बताउनुभयो ।
देशमा भाँडभैलो मच्चाउन राजावादीहरूको दक्षिणपन्थी गिरोह, प्रचण्ड नेतृत्वका स्वघोषित कम्युनिष्ट पार्टी माओवादी र सामाजिक अराजकतावादीहरू शक्ति सक्रिय रहेका उहाँले बताउनुभयो । त्यसैलाई रोक्न एमाले र कांग्रेस मिलेर लागेका ओलीले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्