काठमाडौं, जेठ १३ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादीसहितका विपक्षी दलको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाउनु भयो । उहाँले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताउनु भयो । सांसद पुनले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानलाई सघाउन पनि आग्रह गर्नुभयो ।
रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गर्नुभयो । खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाउनु भयो ।
उहाँले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको ? त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताउनु भयो ।
खनालले प्रहरी अनुसन्धानमा आशंका रहेको भन्दै आयोग बनाउनुपर्ने माग राख्नुभयो । बैठकमा उहाँहरुले बोलेपछि विपक्षी दलहरूले उठेर नाराबाजीमा उत्रेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्