काठमाडौं, १४ जेठ । काठमाडौँको तीनकुनेमा २ जनाको ज्यान जानेगरी भएको घटनाको २ महिना पुगेकै दिन फेरि राजावादी समूहहरू शक्ति प्रदर्शनमा उत्रिने भएका छन् । तीनकुनेमा चैत १५ गतेको प्रदर्शनमा नेतृत्वकर्ता नै हिरासत पुगेपछि छिन्नभिन्न भएका राजावादी पार्टी र समूहहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले नगरकोटमा लगेर एकजुट बनाएका छन् । ज्ञानेन्द्रलाई भेटेलगत्तै एकजुट भएर कार्यक्रम घोषणा गरेका दल र समूहले जेठ १५ गते काठमाडौँको रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएका छन्।
तर त्यसैदिन सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि गणतन्त्र दिवसमा उत्सव मनाउने भएपछि दुई शक्ति आमनेसामने हुने हुदाँ सुरक्षा जोखिम उच्च देखिएको छ । गणतन्त्रको विरोधमा राजावादीहरू र पक्षमा एमालेले कार्यक्रम राखेपछि प्रशासनलाई भने सुरक्षा व्यवस्थापनको चुनौती थपिएको हो।
यसअघि चैत १५ गते पनि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा दरबारमार्गमा कार्यक्रम गर्दा राजावादीलाई भने तीनकुनेमा तोकिएको थियो। राजावादी दल र अन्य समूह तीनकुनेमा दुर्गा प्रसाईंलाई कमान्डर बनाएर विरोध प्रदर्शनमा उत्रिएका थिए। जुन कार्यक्रम हिंसात्मक बन्दा कमान्डर प्रसाईंसहित ६५ जनाले मुद्दा खेप्नु परेको छ। केही अझै फरार छन्। कार्यक्रममा संलग्न भएका ५० जनाभन्दा बढीलाई पक्राउ गरेर लामो समय हिरासतमा राखेर रिहा गरिएको छ।
मुद्दा चलाइएकाहरू भने अहिले पनि थुनामै छन्। तीनकुनेको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन हिरासतमा बसे। त्यसको केहीपहिले नै महामन्त्री धवलशमशेर राणा भने छुट्नुभएको थियो। उपचारका लागि राणा र सर्वोच्चको आदेशमा छुटेका मिश्रलाई पनि राज्यविरुद्धको कसुरमा प्रतिवादी बनाइएको छ। तीनकुनेको घटनामा प्रत्यक्ष संलग्न भएर भीड उक्साएको आरोप खेपिरहेका मिश्र र राणाले भने त्यो कार्यक्रमको जिम्मा लिन अस्वीकार गर्नुभएको छ। पहिले पार्टीको निर्णयविपरीत कार्यक्रममा पुगेका यी दुई नेताले पनि उक्त दिनको सम्पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंको भएको भन्दै दोषजति उनलाई थोपरेका छन्। गणतन्त्रको उत्सवमा एमालेले र विरोधमा राप्रपाले प्रदर्शन गर्ने भए पनि कार्यक्रम स्थल भने एउटै क्षेत्र खोजेका छन्। एमालेले कार्यक्रम गर्नका लागि दरबारमार्ग वा भृकुटी मण्डप माग गर्दै जिल्ला प्रशासन कार्यलय काठमाडौँमा निवेदन दिइसकेको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार एमालेले कार्यक्रमका लागि सुरक्षा माग गर्दै दिएको निवेदनमा कार्यक्रमस्थलका लागि सबै विकल्प रत्नपार्क आसपासकै मात्र दिएको छ। एमालेको निवेदनमा प्रशासनले निर्णय गरिनसकेको भण्डारीले बताउनुभयो । तर राजावादीहरूले भने कार्यक्रम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छैनन्। तर तीनकुने क्षेत्रमा भने यसपटक प्रशासनले राजावादीहरूलाई कार्यक्रम गर्न नदिने भएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेको कार्यक्रम रत्नपार्कमै गर्ने दाबी गर्नुभएको छ । मंगलबार सम्पादकहरूसँगको छलफलमा उहाँले प्रशासनले अनुमति नदिए पनि कार्यक्रम रत्नपार्कमै हुने दाबी गर्नुभयो ।त्यसैदिन एमालेले पनि कार्यक्रम राखेर आफूहरूसँग भिड्न खोजेको लिङ्देनको आरोप छ। मंगलबारको उक्त कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि सहभागी थिए। तर यसपटक आमसभा नगर्ने बताएका लिङ्देनले शान्तिपूर्ण प्रदर्शनका लागि प्रशासनमा निवेदन दिन आवश्यक नरहेको दाबी गर्नुयभो। अघिल्लो साता मात्रै प्रहरीका केन्द्रीय प्रवक्ता रमेश थापा, उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालसहितले पत्रकार सम्मेलन गर्नुभएको थियो । उहाँहरूले जेठ १५ को कार्यक्रमका लागि पर्याप्त तयारी रहेको र सुरक्षा व्यवस्था चुस्त हुने दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्