जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार ०८:५४

गणतन्त्रको रक्षा-प्रयोग र विकास गर्दै समुन्नत नेपाल निर्माण गर्नु हामी सबैको साझा दायित्व : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, जेठ १५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप गणतन्त्र भएको बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहीवार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै उहाँले यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको पनि बताउनु भएको छ । साथै उहाँले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।

‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक-आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।उहाँले जनताको समृद्धिको आकाङ्क्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने पनि बताउनु भएको छ । ‘

शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन। अनि आफ्नो देशको विकास आफै गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ । मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनताको समृद्धिको आकाङ्क्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।