जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १३:३९

आन्दोलनका उपलब्धिलाई गुमराहमा राख्न रछ्यानमा फालिएकाहरू सलबलाउँदै छन् : भानुभक्त ढकाल 


काठमाडौं, १७ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जिम्मेवारीमा रहेका सबैले जनभावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ढकालले हरेक क्षेत्र माथि प्रश्न उठिरहेकाले कतै न कतै कमजोरी भएको बताउनुभयो । ‘मान्छेहरूले किन सोध्छन् भन्ने कुरा हामीले हाम्रो राजनीतिलाई, हाम्रा कर्महरूलाई, राज्यको तर्फबाट दिनु पर्ने सेवा सुविधा र अन्य विभिन्न काममा पनि जनभावनालाई राम्रो सम्बोधन गर्न सकेका छैनौँ कि भन्ने कुरालाई पनि ख्याल गरेर अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।

आज सबै क्षेत्रमा नकारात्मक मात्र कुरा हुने गरेको भन्दै ढकालले अहिले सामाजिक सञ्जालबाट सही कुरा सम्प्रेषण गर्ने भन्दा पनि निहित व्यक्ति माथि केन्द्रित रहेर नेतृत्व माथि अनास्था फैलाउने काम भइरहेको बताउनुभयो । ‘आन्दोलन र आन्दोलनका उपलब्धिलाई गुमराहमा राख्ने खालेका प्रवृत्तिहरू देखिन थालेका छन्’, ढकालले भन्नुभयो ।

समस्या हामीबाटै उत्पन्न भएको हो भने त्यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गरी निष्कर्ष निकाल्नु पर्नेमा ढकालले जोड दिनुभयो । यसले सत्यताको नजिक पुग्न सहयोग गर्ने ढकालको धारणा छ ।

ढकालले अहिले जनताको आन्दोलनबाट रछ्यानमा फालिएकाहरू पनि सलबलाउन लागेका बताउँदै जनतालाई सही ढङ्गले बुझाउन नसक्दा उनीहरूले टाउको उठाउन खोजेका बताउनुभयो । हिजो उनीहरूबाट भएको अत्याचार जनतालाई राम्रोसँग बुझाउन नसक्दा आजको अवस्था आएको ढकालको धारणा छ ।

नेकपा एमालले मिसन २०८४ को लक्ष अघि सारेको बताउँदै उहाँले सो कार्यमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । सबै खालका अस्थिरताको अन्त्यको लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको र त्यसको लागि मिसन २०८४ भनिएको ढकालले प्रष्ट पार्नुभयो ।