काठमाडौं, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । ‘लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनर्स्थापाको कुरा उठाउनु अप्रासङ्गिक कुरा हो’, उहाँले भन्नुभयो ।
ओलीले व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने दाबी गर्नुभयो । देशभित्र र बाहिरका अनेक थरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चा बन्दी गरेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको उहाँले बताउनुभयो ।
ओलीले व्यक्तिगत महत्त्वाकाङ्क्षा छाडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभयो । ‘विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ, आज एमालेलाई सिद्ध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन, त्यस कारण हामी मिसन २०८४ मा अघि बढेका छौँ, यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रियावादीले विचार र विकासको नेतृत्व गरे बापत नेकपा एमालेलाई सिद्ध्याउने प्रयास गरेका ओलीले बताउनुभयो । ‘विचार र विकासको नायक पार्टीलाई सिद्ध्याउँछु, धुलो चटाउँछु भने, यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो’, ओलीले भन्नुभयो ।
उहाँले देश संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गर्नुभयो । ‘म एमालेको झोले हुँ, यतिभन्दा एमालेको विरोधीहरूलाई चित्र बुझ्छ होला, म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु, यसमा मलाई गर्व छ’, ओलीले भन्नुभयो ।
जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न ओलीले आग्रह गर्नुभयो । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्न उहाँले बुद्धिजीवीलाई आह्वान गर्नुभयो । ‘तपाईँहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो, देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरूको विरोध गर्नुस्, सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस्’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्