जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १८:५९

सामाजिक सञ्जालमा पार्टीको विपक्षमा होइन, पक्षमा प्रस्तुत हुनुस् : केपी ओली 


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणको काममा महिलाको भूमिका प्रमुख हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभयो । ओलीले ३० वर्ष मुनीका कम्तीमा ३० प्रतिशत महिलालाई संगठनको सदस्य बनाउने देशव्यापी अभियानमा लाग्न निर्देशन दिनुभयो ।

ओलीले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच पनि गलत भएको बताउनुभयो । संगठनलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रूपमा स्थापित गर्नुपर्नेमा ओलीले जोड दिनुभयो ।

ओलीले पार्टीको पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह  गर्नुभयो । नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर विकसित मुलुकभन्दा अग्रगामी रूपमा आफूलाई प्रस्तुत गरेको बताउनुभयो ।

२०८४ को निर्वाचनमा एमालेलाई एकल बहुमतको पार्टी बनाउनु पर्ने बताउँदै उहाँले यसमा महिलाको प्रमुख भूमिका हुने बताउनुभयो । एमालेलाई एकल बहुमतको पार्टीका रूपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ ।