काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफूहरू कहिल्यै देश छाडेर नभाग्ने बताउनुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि ‘हेलिकप्टरमा भाग्नका लागि तयारी रहनू’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै शाक्यले शरीररमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहेको बताउनुभयो ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ, भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौँ, कतै जाँदैनौँ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ’, उहाँले भन्नुभयो ।
आइतबार ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण कार्यक्रममा बोल्ने क्रममा शाक्यले देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न पनि आग्रह गर्नुभयो । ‘देशमा कही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो,’ शाक्यले भन्नुभयो ।
अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आह्वान गर्नुभयो । समृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकको मध्यपुरथिमिस्थित कराते एकेडेमीमा पुस्तक लोकार्पण भएको हो ।
लोकार्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि विभिन्न श्रष्टा हुँदै मध्यपुरथिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठसम्मका कविताहरू वाचन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्