जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १०:०७

बुद्धिजीवी परिषदको अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित, यस्तो बन्यो टीम


काठमाडौं, जेठ १९ । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित हुनुभएको छ । ११ औँ राष्ट्रिय अधिवेशनले चुनावमार्फत थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १  सय ५४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो भने प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १ सय ४ मत पाउनुभएकाे ५ ।

उपाध्यक्षमा गोविन्द शाही १ सय ५३ मतसहित निर्वाचित हुँदा अर्का प्रतिष्पर्धी बिपिनकुमार चित्रकारले १ सय २ मत पाउनु भयो । सचिव पदमा भने डा. अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा प्राडा. इश्वरी कडरियाले १ सय ६१ मत प्राप्त गरेर निर्वाचित हुनुभयो ।

यसैगरी उपाध्यक्षमा राधा अधिकारी, महासचिवमा डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सुशील विक, विदेशी मामिला सचिवमा डा.लाक्पा शेर्पा, प्रचार सचिवमा डा. टीका ढकाल तथा आर्थिक सचिवमा कृष्णकुमार लम्साल सर्वसम्मत चयन हुनुभयो ।

नवनिर्वाचित अध्यक्ष थपलियाले निर्वाचनपछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताउनु भयो । उहाँले बुद्धिजीवी परिषद आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै सबैको साथ र विश्वासप्रति आभार व्यक्त गर्नुभयो।

निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताउनु भयो । अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।

परिषद्को उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उहाँले  परिषद्को बौद्धिक भूमिकाको प्रशंसा गर्दै समाजमा सही विचारको नेतृत्व गर्न बुद्धिजीवी वर्गले अग्रपंक्तिमा रहनुपर्ने बताउनु भयो ।

‘तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्र होइन, बौद्धिक वर्ग हो,’ भन्दै ओलीले समाजमा गलत अभ्यास गर्नेहरूलाई चुनौती दिन र मार्गदर्शन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको सन्देश दिँदै राजतन्त्र पुनःस्थापनाको प्रस्तावलाई असान्दर्भिक बताउनु भयो । ‘लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बेला राजतन्त्रको कुरा उठाउनु अनुचित हो,’ भन्दै उहाँले स्पष्ट धारणा राख्नुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति, योजना र चरित्र निर्माणमा बुद्धिजीवी वर्गको महत्त्वपूर्ण स्थान रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो । उहाँका अनुसार एमालेमाथि चौतर्फी हमला हुनुको कारण राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएकै हो।