काठमाडौं, १९ जेड । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक र संगठित आक्रमणबाट हरेक व्यक्तिले आफ्नो निजत्व जोगाउनु पर्ने बताउनुभएको छ ।
हिजोआज सामूहिक रूपमा संगठित आक्रमण गरेर कसैको निजत्व नै समाप्त गर्ने प्रयास हुन लागेको बताउँदै ओलीले त्यसबाट जोगिनु पर्ने बताउनुभएको छ । कसैलाई सिद्ध्याउने उद्देश्य राखेर झोले भन्दै सामूहिक रूपमा खेद्ने काम भएका प्रति उहाँले आपत्ति जनाउनु भएको छ । ‘सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।
कसैलाई भगवान् बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेलाई झोले भनेर लखेट्ने र समाजलाई भिडमा बदल्ने अराजक खेल सुरु भएको ओलीको भनाइ छ । ‘हिजोआज एउटालाई भगवान् बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ, भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ, सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ’, उहाँले लेख्नु भएको छ ।
ओलीले आफूलाई देशमा परिवर्तन र विकासको झोले बन्न पाउँदा गर्व लागेको पनि स्पष्ट पार्नुभएको छ । ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो’, ओलीले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्