काठमाडौं, जेठ १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण राम्रो भएको बताउनु भएको छ । चीनको १० दिने भ्रमणबाट सोमबार काठमाडौं फर्किएकी भण्डारीले संक्षिप्त प्रतिक्रिया दिँदै ‘चीन भ्रमण राम्रो भयो’ भन्नुभएको हो ।
भ्रमणबारे औपचारिक जानकारी उद्योगमन्त्री भण्डारीले दिने भन्दै पूर्वराष्ट्रपति भण्डारी संक्षिप्त प्रतिक्रिया दिएर एयरपोर्टबाट बाहिरिनु भयो । उद्योगमन्त्री दामोदार भण्डारी, नेता कर्ण थापासहित भण्डारी चीन भ्रमणमा जानुभएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भण्डारी नेतृत्वको टोलीले भेट गर्नुभएको थियो ।
चीनमा रहँदा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसहितसँग भेट गर्नुभएको थियो । भण्डारीले पदबाट हटेपछि पहिलोपटक उत्तरी छिमेकी देश चीनको भ्रमण गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीसँग चीन भ्रमणमा रहनुभएका उद्योग मन्त्री भण्डारीले नेपालसँग गरिएका सहमति कार्यान्वयन गर्न चिनिया पक्ष उत्साहित रहेको जानकारी दिनुभयो । चीन नेपालको वर्तमान सरकारको स्थायित्वको पक्षमा रहेको समेत उहाँले बताउनु भयो ।
झण्डै एकसाता लामो चीन भ्रमणपछि सोमवार स्वदेश फर्किनुभएको थियो । मन्त्री भण्डारीले विगतमा भएका सहमति कार्यान्वयन गर्न चिनिया पक्ष सकारात्मक र उत्साही रहेको बताएका हुन । ‘बिगतमा गरिएका सहमतिलाई पुर्नताजगी गर्ने र कार्यान्वयन गर्ने कुरामा पूर्वराष्ट्रपतिले जोड दिनुभयो ।
चिनिया पक्षबाट उत्साह व्यक्त गर्ने काम भयो र सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता भएको छ,’ उद्योगमन्त्री भण्डारीले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको भ्रमणको बेला गरिएका व्यापार प्रवद्र्धनबारे चासो राख्नुभयो । सरकारी स्तरबाट समाधान गर्ने र सहमति कार्यान्वयन गर्ने बचनवद्धता पायौं ।’
मन्त्री भण्डारीले पूर्वराष्ट्रपतिको भ्रमण सद्भावना भ्रमणको रूपमा रहेको बताउनुभयो । ‘राष्ट्रपतिको भूमिकामा रहँदा चिनियाँ राष्ट्रपतिसँगको सम्बन्धका हिसाबले र नेपालको पूर्वराष्ट्रपतिको हैसियतले विद्या भण्डारीले चीनको भ्रमण गर्नुभएको थियो । भ्रमणमा सरकार र पार्टीको पनि प्रतिनिधित्व रहेकोले विशेषतस् सद्भाव भ्रमणको रूपमा रह्यो,’ भण्डारीले भन्नुभयो ।
भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि सहभागी हुनुभएको थियो । मन्त्री भण्डारीले वर्तमान सरकारको निरन्तरताको पक्षमा चीन रहेको समेत उल्लेख गर्नुभयो । ‘चिनिया पक्षबाट अहिले राजनीतिक स्थायित्वका लागि प्रमुख दल रहेको सरकारले स्थायित्व पाओस् भन्नेमा जोड दिँदै राजनीतिक स्थायित्वका लागि भएको प्रयासमा खुसी व्यक्त भएको छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्