जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १४:१७

हाम्रो संस्कृति मर्न दिनु हुँदैन : प्रधानमन्त्री केपी शर्मा ओली 


काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्नु पर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठान सञ्चालक परिषद्को २५ औँ बैठकमा परिषद्को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गर्नुपर्ने बताउनुभयो । सोमबार सिंहदरबारमा भएको बैठकमा उहाँले पछाडि परेका जाति र समुदायका क्षमता वृद्धि गरेर राष्ट्रिय समृद्धिमा लानुपर्नेमा जोड  दिनुभयो । ‘मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरूले आफ्नो पहिचान खोजेर त्यसलाई महत्त्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान हो, हामीले हाम्रो संस्कृति मर्न दिनु हुँदैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जातीय विकासको कुरा गर्दा जातीय वैमनस्य र चिसोपन नखोजिएको बताउनुभयो । आपसी एकता, समझदारी र सामाजिक न्यायमा ध्यान दिनु पर्ने बताउँदै उहाँले उहाँले प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतभेदका आधारमा होइन, साझा संस्थाका रूपमा  अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

ओलीले आफूहरूले कमजोरीलाई अनुभवका आधारमा सच्याउँदै लोकतन्त्रलाई बलियो बनाएर लैजानु पर्ने प्रष्ट पार्नुभयो । उहाँले प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक बसेर समसामयिक समस्यामाथि छलफल गरेर समाधानका उपायका लागि सरकारसँग सिफारिस गर्न आग्रह गर्नुभयो ।

बैठकमा प्रतिष्ठानको आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम, चालु आर्थिक वर्षको समीक्षा, थप जातिको सूचीकरण आदि कार्यसूची रहेका छन् ।