काठमाडौं, १९ जेठ । नेकपा एमाले संसदीय दलको २४ औँ बैठक आज पार्टी संसदीय दलको कार्यालय लोत्सेहल बानेश्वरमा सम्पन्न भएको छ । बैठकमा नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत बजेटका सम्बन्धमा छलफल भएको छ पार्टी संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बैठकको प्रारम्भमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी ओलीले सांसदहरूलाई बजेट र समसामयिक विषयवस्तुका बारेमा सम्बोधन गर्नुभएको थियो । उहाँले संसदमा नेकपा एमाले संसदीय दलका सदस्यले निर्वाह गर्नुपर्ने भूमिका र सक्रियताका सम्बन्धमा मार्ग निर्देश गर्नु भएको थियो ।
बैठकमा बजेटका सम्बन्धमा एमाले उपाध्यक्ष उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव अधिकारीले विज्ञका रूपमा प्रशिक्षण दिनु भएको थियो ।
प्रस्तुत बजेटले दिगो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्न, उद्यमशीलता विकास मार्फत रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न, निजी र सार्वजनिक सहकार्य तथा लगानीमा जोड दिन, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्न, सरकारको लगानी प्रतिफल युक्त आयोजनामा केन्द्रित गर्न, सामाजिक सुरक्षाको सुनिश्चित गर्न, नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन, चालु प्रशासनिक खर्च कटौतीमा जोड दिँदै पुँजीगत खर्च वृद्धिलाई विशेष महत्त्व दिएको उहाँहरूले प्रष्ट पार्नुभएको थियो । बैठकले मुलुकको आम्दानी र खर्चको वास्तविक धरातलबाट प्रस्तुत बजेट सन्तुलित, गतिशील, यथार्थपरक र कार्यान्वयन योग्य रहेको निष्कर्ष निकालेको बर्तौलाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूले असंसदीय, गैर राजनीतिक र पुर्वाग्रहप्रेरित ढङ्गले संसदमा जारी राखेको अवरोध तत्काल अन्त्य गरी सार्वभौम संसदमा जनसरोकारका विषयहरू माथिको बहस, बजेट माथिको छलफल र कानुन निर्माण लगायत संसद्ले गर्नुपर्ने नियमित महत्त्वपूर्ण कामहरू सुचारु हुने सहज र मर्यादित वातावरण बनाउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्