काठमाडौं, २० जेठ। काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई निलम्बन गर्नुभएको हो । पाण्डेलाई निलम्बन गरे सँगै नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।
उहाँलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोध्नु भएको थियो । तर चित्तबुझ्दो स्पष्टीकरण नदिए पछि गुरागाईँले पाण्डेलाई निलम्बन गर्नुभएको हो ।
नगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम पाण्डेलाई निलम्बन गरिएको छ । गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिँदासम्म बढीमा ६ महिनाको लागि पाण्डेलाई निलम्बन गरिएको पत्र दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्