जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार १७:३४

लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव


काठमाडौँ ,२० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो भाषण गरेर जनतालाई नथकाउन नेताहरूलाई सुझाव दिएका छन् । मंगलबारदेखि सुरु गरेको काठमाडौँ उपत्यका केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको उद्घाटन समारोहलाई थानकोटमा सम्बोधन गर्दै उनले सभालाई छोटो र छरितो बनाउन सुझाव दिएका हुन् ।

‘यस अभियानमा भाषण धेरै भयोजस्तो लाग्यो मलाई । यसरी हुँदैन । मानिसलाई थकाएर, वाक्क बनाएर अभियान हुँदैन । पूर्व–पश्चिम जागरण अभियान सफल भएको एक÷दुई जनाले मात्र भाषण गरेर हो’, उनले भने, ‘फ्याट्ट गयो एउटा सांस्कृतिक कार्यक्रम गर्‍यो सकियो । भाषण गरेको छ, गरेको छ । यो भएन । आजको उद्घाटन कार्यक्रममा गरे पनि अब नगर्नुहोला । यो मेरो सुझाव भयो तपाईंलाई ।’

प्रचण्डले जनताको कुरा बढी सुन्ने आफ्ना कुरा कम भन्ने गरेमा मात्र अभियान सफल हुने बताए । केन्द्रीय समिति बैठकले पनि यस्तो अभियानको परिकल्पना नगरेको उनले बताए । कार्यक्रममा उनले भाषण गरेर जनतालाई नथकाउन बारम्बार आग्रह गरेका थिए । यद्यपि यसको अर्थ आफूले विरोध नगरेको जिकिर गरे ।