काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल कार्यक्रममा बोल्दै ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउनुभयो । आयोगका काममा सरकारको दबाब र हस्तक्षेप नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
ओलीले आयोगलाई कसैका दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभयो । ‘तपाईँहरू कसैको दबाबमा नपर्नुस्, स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस्, सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन, आवश्यक सहयोग गर्छ’, ओलीले भन्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगको अपेक्षा प्रस्तुति गर्नुभएको थियो । छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्कौला, आयोगका सदस्यहरू र सचिवहरू सहभागी हुनुहुन्थ्यो । दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्