काठमाडौं, २१ जेठ । यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् ।
सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो । हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’लाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।छलफलपछि अहिलेका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो ।सरकार र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्