जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १७:३६

आर्थिक वृद्धि, रोजगारी र पर्यटन प्रवर्धन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री 


काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्त्व दिएको बताउनुभएको छ ।

निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा बुझाएको विभिन्न सुझावहरु ग्रहण गर्दै ओलीले निर्यात व्यवसायीका उचित सुझावलाई सम्बोधनको पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले विद्यमान स्थितिमा निर्यात व्यवसायीलाई धेरै प्रोत्साहन दिन नसके पनि सम्भव र व्यवहारिक विकल्पमा साझा प्रयास गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महासंघको नयाँ नेतृत्वलाई बधाई पनि दिनुभएको थियो ।

महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको छ । महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ ।