काठमाडौं, २१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको झोला भित्र समृद्ध नेपाल सुखी नेपालीको नक्सा भएको बताउनुभएको छ ।
पार्टीको विचार, सिद्धान्त र कार्यक्रमलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने मूल दिशानिर्देशकका साथ एमालेका नेता कार्यकर्ता झोला बोकेर हिँडेका पोखरेलले स्पष्ट पार्नुभएको छ ।
महासचिव पोखरेलले एमालेको वैचारिक झोलालाई नेपाली समाजको गतिशील रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ । ‘हामीसँग द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादमा आधारित मार्क्सवादी दर्शन छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
त्योसँगै एमालेसँग सिर्जनात्मक रूपमा विकास गरिएको जनताको बहुदलीय जनवाद (जबज) भएको पोखरेलले स्पष्ट पार्नुभएको छ । महासचिव पोखरेलले जबजको प्रयोग र विकासबाट विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता पनि एमालेकै झोलामा भएको बताउनुभएको छ ।
एमालेले प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र भएको झोला बोकेर हिँडेको उहाँले बताउनुभएको छ । ‘आउनुहोस् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि नेकपा एमालेको गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ, नेकपा एमालेका विरुद्धमा प्रतिक्रियावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ’, उहाँले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्