काठमाडौं, २१ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवादको सार समृद्ध नेपाल सुखी नेपाली भएको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेसनको आयोजना तथा नेकपा एमाले पार्टी स्कुल विभाग उदयपुरको समन्वयमा आयोजित जनताको बहुदलीय जनवादको आलोकमा समृद्धिको यात्रा विषयक प्रशिक्षनात्मक विचार गोष्ठीलाई बुधबार सम्बोधन गर्दै ज्ञवालीले मदन भण्डारीले ३० वर्ष अघि देखेको सपना जनताको बहुदलीय जनवादलाई मूर्तरूप दिन एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सारेको बताउनु भयो । बहुदलीय प्रणाली, लोकतान्त्रिक पद्धतिबाट जनताको समर्थन प्राप्त गरी सत्तामा पुग्ने र समाजवाद निर्माण गर्ने जननेता मदन भण्डारीको सपनालाई साकार पार्न एमालेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो मूल एजेण्डा बनाएर अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले विगतमा भएको दश वर्षे सशस्त्र द्वन्द्वले जनताको जीवनमा कुनै परिवर्तन गर्न नसकेको उहाँले बताउनुभयो । जनताका जीवनमा परिवर्तन गर्न बहुदलीय लोकतन्त्र स्थापन गर्नु पर्ने आवश्यकता एमालेले ३० वर्ष अघि नै जनताको बहुदलीय जनवाद मार्फत अघि सारेको ज्ञवालीले स्पष्ट पार्नुभयो ।
मुलुकलाई चरम द्वन्द्वमा पुर्याएको माओवादी समेत अन्ततः नेकपा एमाले र मदन भण्डारीले देखेको बहुदलीय लोकतन्त्र समाजवादतर्फ अघि बढ्ने वैचारिक मार्गदर्शक सिद्धान्तमा आएको ज्ञवालीलेले स्पष्ट पार्नुभयो । आज मुलुक सोही एजेण्डामा अघि बढिरहेको उहाँले दाबी गर्नुभयो ।
नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको महत्त्वपूर्ण राष्ट्रिय आकाङ्क्षालाई राज्यले १५ औँ र १६ औँ राष्ट्रिय योजनामा समावेश गरेर अघि बढेकोले एमालेले देखेको सपना आज राष्ट्रकै सपना भएको उहाँको भनाइ छ ।
पछिल्लो समय देशमा केही भएको छैन भन्ने गलत भाष्य सामाजिक सञ्जालमा लेखिने गरेको भन्दै तथ्यमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । आर्थिक, सामाजिक, पूर्वाधार हरेक क्षेत्रका देशले पञ्चायतको तुलनामा फड्को मारेको उहाँले स्पष्ट पार्नुभयो । तथापि राज्यको तर्फबाट गर्नुपर्ने धरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, पोलिटब्युरो सदस्य मञ्जुकुमारी चौधरी, मदन भण्डारी फाउण्डेसन कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईँ, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, उदयपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी लगायतले धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्