जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार १०:०८

भिजीट भिसामा चेलीबेटीकै तस्करी ! घरेलु कामदार पठाउन दूतावासकै साथ


त्यसरी खाडीमा पठाइने नेपाली चेलीलाई भिजीट भिसा अन्तर्गत दुवई, आवुधावी पठाएर त्यहाँबाट भारतीय दलालको सक्रियतामा कुवेत, बहराईन, साउदी लगायतका ठाउँमा पठाउने गरिएको स्रोतको दावी छ ।

काठमाडौं, जेठ २२ । यतिबेला मुलुकमा भिजीट भिसाबारे चर्काे बहस चलिरहेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलले संसद नै अवरुद्ध पारिरहेको अवस्था छ ।

भिजीट भिसामा गएका मध्ये थुप्रै नेपाली चेली घरेलु कामदारका रुपमा खाडीमा काम गर्न गएर स्वदेश फर्कदा अवैद्य गर्भधारण गरेर समेत आउने गरेको पाइएको छ । कतिपयले उतै बच्चा जन्माएर फर्केको अवस्था पनि यदाकदा सुन्नमा आइरहने गरेको छ । त्यसो त हाउसमेटकै रुपमा काम गर्न गएका महिलाले यातना पाएका, पारिश्रमिक नपाएर शोषणमा परेका घट्ना त सामान्य जस्तै बनिसकेको अवस्था छ ।

यसै क्रममा हालै खाडी मुलुक कुवेत, आवु्धावी, बहराइन, साउदीमा घरेलु कामदारका रुपमा पठाइएका थुप्रै नेपाली चेली भिजीट भिसाको प्रयोग गर्दै अवैद्य रुपमा त्यता पुगेको खुलेको छ । म्यानपावर ब्यवसायी मेघनाथ भूर्तेल सञ्चालक रहेको निलकमल ह्यूमन रिसोर्स र कमल काफ्ले सञ्चालक रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट नामका मेनपावर, शम्भु डाँगी, शम्भु गौतम, राजकुमार राईलगायतका एजेन्ट तथा म्यानपावर कम्पनीहरूले समेत ‘सेटिङ’ मिलाएर श्रमिक पठाउने काम गरिरहनु भएको पाइएको छ । ती दुबै म्यानपावर कम्पनीलाई खाडीस्थित नेपाली राजदूतावासले समेत सघाउने गरेको पाइएको छ । यसरी सहयोग गर्ने म्यानपावरविरुद्ध दूतावासमा उजुरी पर्दा सुनुवाइ नहुने अवस्था छ ।

हाउसमेटकै रुपमा वैदेशिक रोजगारीमा महिला कामदार पठाउने कार्यविधि केही जटिल छ । कामदारको सुरक्षाको ग्यारेन्टी रोजगारदाताले लिनुपर्ने र त्यसका लागि तोकिएअनुसारको रकम रोजगारदाताले नेपाल दूतावासमा जम्मा नै गर्नुपर्ने र एम्वेसीमा उक्त कामदारको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने भएकाले खाडीलगायत अन्यत्रबाट पनि रोजगारदाताले हाउसमेटकै लागि भनेर कामदार झिकाउन चाहान्नन्, तर जे–जसरी जे कामका लागि भनेर झिकाउने गरिए पनि अधिकांश महिला कामदारले गर्ने भनेको काम हाउसमेट अन्तर्गत नै हो । त्यसरी खाडीमा पठाइने नेपाली चेलीलाई भिजीट भिसा अन्तर्गत दुवई, आवुधावी पठाएर त्यहाँबाट भारतीय दलालको सक्रियतामा कुवेत, बहराईन, साउदी लगायतका ठाउँमा पठाउने गरिएको स्रोतको दावी छ ।

अझ कहाँ त्यतीमात्र हो र ? निःसन्तान दम्पत्तिका लागि बच्चा जन्माइदिन पनि मेनपावर कम्पनीले महिला कामदार आपूर्ति गर्ने गरेका छन । कतिपय महिलालाई म्यानपावर सञ्चालकले बच्चा जन्माइदिनैका लागि मनाएरै पठाउने गरेको पनि स्रोतको दावी छ । यसरी बच्चा जन्माइदिन जाने महिला कामदारले दुई वर्षसम्म हाउसमेटका रुपमा गए पनि त्यहाँ पुगेर घरलु कामदारकै भूमिका भने निर्वाह गर्नु पर्दैन । उनीहरुले घरमालिकलाई सन्तान दिएर फर्कनु पर्नेछ । त्यस्ता महिलाले यस्तो काम गरे वापत राम्रै आर्थिक लाभ पनि पाउने छन् ।

भविष्यमा बच्चा दावी गर्न वा अन्य कुनै कानूनी अधिकार खोज्न समेत खाडी मुलुकको कानूनअनुसार सजिलो नभएकाले रोजगारदाताले सुरक्षित र सजिलो उपाय मानेका छन । यस कार्यका लागि पारिवारिक स्वीकृती नै मिल्ने भएकाले यताबाट जाने महिलाले कुनै हिंसा वा तनाव खेप्नु पर्ने हुन्न । खाडी मुलुकका मुसलमान समूदायले ’सेरोगेसी’ पद्धतीलाई धार्मीक रुपले पनि स्वीकार्न चाहान्नन् । उनीहरुमाथि बुहुविवाह प्रथा बाधक छैन ।

त्यसैले बच्चा जन्माउन इच्छा अनुसार विवाह गर्न रोकटोक हुन्न । तापनि वैवाहिक जिवनको सफलताका लागि पछिल्लो समय आफ्नो जिवन पार्टनरसँग पनि उनीहरु सहमती अनुसार चल्ने गर्छन । यसका लागि बच्चा जन्माउन स्वास्थ्यका दृष्टिले असक्षम महिलाले ’साँप पनि नमर्ने लाठी पनि नभाँचिने’ आफ्ना लोग्नेलाई विवाह नै गर्ने सल्लाह दिनु भन्दा घरेलु कामदारका रुपमा महिलालाई भित्र्याएर आफ्नो लोग्नेको तर्फबाट बच्चा प्राप्त गरिदिनका लागि उक्त सम्वन्धलाई स्वीकार गर्न तयार हुन्छन्, साथै खुसी पनि ।

बस्, दुई वर्ष खाडीमा घरेलु कामदारका लागि गएकी महिला १० महिनामा बच्चा जन्माइदिएर त्यो बच्चा हुर्कीइसकेपछि त्यहाँबाट फिर्ता हुन्छिन् । यसै पनि ‘हाउसमेट’मा जान तयार महिला आर्थिकरुपमा कमजोर नै हुन्छन्, त्यसमाथि पनि कामै नगरी त्योभन्दा बढी सुविधा प्राप्त हुने भएपछि त्यसरी जाने महिला पनि खुसी नै हुन्छन् ।

स्रोतले गरेको दावी अनुसार यहाँनेर हाउसमेटका रुपमा बच्चा जन्माइदिने शर्तसहित जाने महिलाले भन्दा त्यो व्यवस्थापन मिलाइदिने म्यानपावर कम्पनी वा दलालले मोटो रकम रोजगारदाताका तर्फबाट प्राप्त गर्ने गरेका हुन्छन् । त्यसरी एउटै महिला पठाउँदा दशौं कामदार पठाउँदा बराबरको आम्दानी हुने र पठाइएका महिलाबाट पनि कुनै गुनासो नआउने र भविष्यमा पनि समस्या नपर्ने ठम्याइँ मेनपावर सञ्चालक र दलालको हुने गर्छ ।

स्रोतका अनुसार बच्चा जन्माइदिन राजी हुने महिला मात्र त्यसरी पठाइने गरिन्छ । यतैबाट रोजगारदाताको इच्छाअनुसार नै युवती खोज्ने, उनीहरुलाई आकर्षक प्रलोभन देखाउने सबै काम मेनपावर सञ्चालक वा दलालबाट हुने गर्छ । यसरी पठाइएका महिलाबाट कुनै गुनासो कहीँकतै आउने नगरेको स्रोतले बतायो । अप्रेसन गरी बच्चा झिकिने भएकाले बच्चा जन्माइदिएको पनि कसैले चाल नपाउने भन्दै स्रोतले भन्यो, ‘कति अविवाहित महिला पेट चिरेको दाग लिएर बच्चा उतै छाडेर स्वदेश फर्कने गरेका छन् । खाडीबाट फर्केकाहरुको शरिर बारे चासो राख्दा प्रष्ट हुन्छ ।’

निलकमल ह्यूमन रिसोर्स, लिंक इन्टरनेशनल प्लेसमेन्ट समेत आधा दर्जन बढी म्यानपावर कम्पनी यस्तो धन्दामा क्रियासिल रहेको स्रोतले बतायो । यस्तो धन्दामा क्रियासिल अधिकांश व्यवसायी ‘मेनपावर राजनीति’ गर्ने नेता समेत रहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने महिलामध्ये २४-३४ वर्षका ५२.३%, १८-२४ वर्षका ३२.३% र ३५-४४ वर्षका १४.६% छन् । यस्तै ६ बर्षमा १ लाख एक हजार एक सय ५५ महिला भिजिट भिसा लिएर खाडी पुगेको तथ्यांक रहेको छ ।

यसअघि दिल्ली, मुम्बई र चेन्नाईबाट हाउसमेटका रुपमा महिला कामदार ‘सप्लाई’ गर्ने गरिएकोमा हाल भारतका विमानस्थलमा पनि चेकजाँचका नाममा केही कडाइँ हुन थालेपछि मानवतस्करले हाउसमेटका रुपमा काम गर्न जाने महिलालाई पनि अन्य कामको वर्क परमिट झिकाउने वा भिजीट भिसामा गिरोहकै मिलीभगतमा पठाउने गरेको पाइएको छ । भिजीट भिसा सम्वन्धमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले यसबारे पनि थप खुलासा हुने नै छ ।