काठमाडौँ ,२२ जेठ । नेकपा माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत देखाएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफल अनुसार गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादीले यस्तो संकेत देखाएको हो ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिन्छु भनिरहनुभएको छ । यस्तो अवस्थामा उहाँलाई बोल्न दिएर कुराहरू सुन्नुपर्छ । उहाँका कुरामा चित्त बुझेन भने अरु प्रश्न गर्न पाइन्छ’, माओवादीका एक पदाधिकारीले भने, ‘घटना र उठेका विषयमा कस्तो जवाफ आउँछ भन्ने विषयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’ माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए ।
‘दुवै पक्षसँग छलफल गर्नुपर्नेछ । आज त्यो कुराकानी हुन्छ’, पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्