जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार ०७:३५

भ्रष्टाचार र ठगी आरोपमा निलम्बनमा चार सांसद (कस्लाई कुन मुद्दा विस्तृतमा)


काठमाडौं, २३ जेठ ।  गत आम निर्वाचनबाट गठित प्रतिनिधिसभाका सदस्यहरू एकपछि अर्को काण्डमा मुछिने क्रम जारी छ।

यसैक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल पनि सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रेमा जग्गा किनबेच र हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा नेपालसमेतविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दर्तासँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल सांसद पदबाट स्वतः निलम्बनमा पर्नुभएको छ ।

नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६६ सालमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न दिने निर्णय गरेको अख्तियारको दाबी छ। नेपालसँगै अहिले निलम्बनमा परेका सांसदको संख्या चार पुगेको छ। विभिन्न काण्डमा मुद्दा लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एसका सांसद नेपाल निलम्बनमा हुनुहुन्छ । यस अवधिमा निलम्बनमा परेका तीन सांसदको पद फुकुवा भएको छ।

निलम्बनमा परेर फुकुवा भएका सांसदमा कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका लक्ष्मी महतो कोइरी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अरुणकुमार चौधरी हुनुहुन्छ । यस अवधिमा दुई सांसदको पद खारेज भएको छ। सांसद पद खारेज हुनेमा रास्वपाका लामिछाने र ढाकाकुमार श्रेष्ठ छन्। लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भए पनि सहकारी ठगी प्रकरणमा मुद्दा लागेपछि निलम्बनमा पर्नुभएको थियो । उहा चितवन–२ बाट निर्वाचित हुनुभएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेपछि एमाले सांसद रायमाझी निलम्बनमा पर्नुभएको छ। २०८० वैशाख ३१ मा पक्राउ पर्नुभएका उहाँ थुनामा हुनुहुन्छ। उहाँ अर्घाखाँची–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । टेरामक्स प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस सांसद बस्नेत पनि निलम्बनमा हुनुहुन्छ। उहाँ सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गत जेठ १ गते उहाँ विरुद्ध मुद्दा हालिएको हो।

निलम्बन फुकुवा भएका कांग्रेसका गुरुङ मनाङबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । उहाँ २०७९ पुस ८ गतेदेखि निलम्बनमा पर्नुभएको थियो। २०७५ माघ २१ मा उहाँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

मुद्दा विचाराधीन भएकै अवस्थामा उनी मनाङबाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङलाई अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम निलम्बन भएको भन्दै संसद् सचिवालयमा २०७९ पुस ८ मा पत्र पठाएको थियो। पछि अदालतकै आदेशले उनको निलम्बन फुकुवा भए पनि मुद्दा विचाराधीन छ। सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङलाई भृकुटीमण्डपस्थित फन पार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको मुद्दामा विशेष अदालतले २०७९ फागुन १७ गते दोषी ठहर गरेको थियो ।

निलम्बन फुकुवा भएका एमाले सांसद कोइरी महोत्तरी–१ बाट निर्वाचित हुनुहुन्छ । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या आरोपमा कोइरी निलम्बनमा पर्नुभएको थियो । २०७९ माघ १९ गते नाउपाका सांसद चौधरी पक्राउ पर्नुभएको थियो । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर हुनुभएको थियो । कैलाली कारागारमा रहेका चौधरी कैद मिनाहा माफीपछि २०७९ फागुन ७ गते छ्ट्नुभएको छ। कैद मिनाहा नहुँदासम्म उहाँ निलम्बनमा हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति लामिछाने उपप्रधान र गृहमन्त्री बन्नुभएको थियो । सर्वोच्च अदालतले २०७९ माघ १३ मा लामिछाने सांसदका लागि उम्मेदवार बन्न योग्य नभएको आदेश दिएपछि उहाँको सांसद पद खारेज भएको थियो। अमेरिकी नागरिकता नत्यागेकाले उहाँ सांसद हुन योग्य नभएको सर्वोच्चको आदेश थियो। अमेरिकी नागरिकता त्यागेपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनबाट लामिछाने पुनः निर्वाचित हुनुभएको थियो ।

२०८१ पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएसँगै उहँँको सांसद पद निलम्बन भएको हो। रास्वपाका समानुपातिक सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उहाँलाई पार्टीले २०७९ चैत २९ गते साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। यो निर्णयसँगै उहाँको पद गुमेको हो। उहाँको सट्टामा रास्वपाले विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाएको छ।

यसैगरी राप्रपा सांसद धबलशमसेर राणा, कांग्रेस सांसद माया राई र राप्रपाकी सांसद गीता बस्नेत पनि कानुनी फन्दामा परेका छन्। काठमाडौं तीनकुनेमा चैत १५ गते हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा सांसद राणा पक्राउ पर्नुभएको थियो। उहाँलाई फौजदारी कसुरको आरोप लागेको छ। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। उहाँ बाँके २ बाट निर्वाचित हुनुहुन्छ । तर उहाँ निलम्बनमा भने पर्नुभएको छैन।

कांग्रेसकी सांसद माया राई पनि पक्राउ पर्नुभएको छ। उहाँमाथि काठमाडौें कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ।सहकारी ठगी प्रकरणमा मुछिएपछि राप्रपा सांसद बस्नेत फरार हुनुहुन्छ । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।