जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १५:५१

विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् : प्रधानमन्त्री 


काठमाडौ‌ं, २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका विषयमा सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबिचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘हाम्रा विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्, हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछौँ भनेको छौँ, प्रतिस्पर्धी दल भएकाले काँग्रेसले पनि त्यो भन्न पाउँछ’, उहाँले भन्नुभयो ।

ओलीले कांग्रेस र एमाले अहिले सँगै सरकारमा रहेर भोलि आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका स्पष्ट पार्नुभयो । ‘त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ, यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो ।

प्रविधिको जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीहरूले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थी आन्दोलन र खास गरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संंग्रहको घोषणा गर्न बाध्य बनाएको उहाँले स्मरण गराउनुभयो । देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन अनेरास्ववियुले बलिदान गरेको ओलीले स्मरण गर्नुभयो ।

उहाँले गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन आवश्यक रहेको बताउनुभयो । विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलाप लागि अनेरास्ववियुका लागि छुट नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अनेरास्ववियुलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रूपमा रहन निर्देश गर्नुभयो ।

बाटोमा हिँड्दा मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिन्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन’, ओलीले भन्नुभयो ।

एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति भएको भन्दै उहाँले त्यसलाई चिर्न पनि विद्यार्थीलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । ‘चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्, मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारी रूपमा अघि बढ्न सक्छौँ, मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदै छ, पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति हुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन’, उहाँले भन्नुभयो ।